जोडिनुहोस
  • होमपेज
  • थुनामुक्त भए सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा

थुनामुक्त भए सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएपछि महरालाई हाजिरी जमानीमा थुनामुक्त गरिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले महरा रिहा भएका जनाएको छ। विद्युतीय चुरोट ९भेप० तथा स्कुटरको ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करी प्रकरणमा संलग्नता देखिएको भन्दै सीआईबीले महरालाई नियन्त्रणमा लिएको थियो।

महरा सोमबार कपिलवस्तुबाट पक्राउ परेका थिए। उनलाई सोमबार नै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि महरालाई ४ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। अदालतले दिएको म्यादअनुसार महरालाई शुक्रबार रिहा गरिएको हो।

चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा हुने सुन तस्करीमा महराको नाम पहिले नै सार्वजनिक भएको थियो। १० पुस २०७९ मा फ्लाई दुबईको उडानबाट काठमाडौं उत्रिएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको सुन छुटाउन महाराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखलाई फोन नै गरेका थिए। यस्तै, महराका छोरा राहुल महरा सुन लुकाएर ल्याइएको उक्त भेप छुटाउन भन्सार कार्यालय नै पुगेका थिए।

सीआईबीले गरेको अनुसन्धानबाट उक्त सुन तस्करीमा चिनियाँ नागरिक ली हासन र दाओजिङ वाङको मूख्य संलग्नता रहेको खुलेको थियो। पूर्व सभामुख महराले सुन तस्करीमा मुख्य नाइके भनिएका दुवै चिनियाँ नागरिक ली हासन र दाओजिङ वाङसँग पटक–पटक फोन सम्पर्क गरेको खुलेको थियो।

तस्करीको सुन छुटाउन विमानस्थल प्रमुखलाई नै फोन गरेको तथा तस्करीका नाइकेसँग पटक–पटक सम्पर्कमा रहेको देखिएपछि सीआईबीले महरालाई पनि अनुसन्धानको दायरमा ल्याएको थियो। तर त्यतिबेला उनको बयान मात्रै लिएर छाडिएको थियो।

पछि सुन तस्करीको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले महराविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। सुन तस्करी प्रकरणबारे ५ महिना अनुसन्धान गरेको आयोगले केही दिन अगाडि मात्रै सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

आयोगको प्रतिवेदनमा सुन तस्करीबारे यसअघि सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको विषय औंल्याएपछि सरकारले त्यसबारे पुनः छानबिन सुरु गर्न प्रहरीलाई निर्देशन दिएको थियो। जसअनुसार सुन तस्करी प्रकरणको पुनः अनुसन्धान सुरु गर्दै सीआईबीले महरालाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका