Wed Aug 17 2022
मुख्य खबर

क्याम्पसको जग्गामा ब्यापारीको रजाइँ, लबिम मलले पाटन क्याम्पसलाई तीन वर्षदेखि तिरेन भाडा

काठमाडौं – पाटन संयुक्त क्याम्पसको पुल्चोकस्थित झन्डै ११ रोपनी जग्गा लिजमा लिएर भव्य मल चलाइरहेको ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी (लबिम)ले तीन वर्षदेखिको दुई करोडभन्दा बढी भाडा तिरेको छैन । आर्थिक अभावमा रहेको क्याम्पसले भने भूकम्पले चर्काएका भवन र टहरामा कक्षा सञ्चालन गर्नुपरेको छ ।

पाटन क्याम्पस र लबिमबीच ०७२ मा सुरुको वर्ष वार्षिक ४३ लाख भाडा तिर्ने गरी सम्झौता भएको थियो । तीन–तीन महिनामा अग्रिम भाडा तिनुपर्ने र दोस्रो वर्षदेखि क्रमशः भाडा बढ्ने व्यवस्था सम्झौतामा छ । दुई वर्षसम्म भाडा नतिरे स्वतः करार भंग हुने व्यवस्था छ । तर, कर तिर्ने विषयमा विवाद निकालेर लबिम मलले झन्डै भाडा तिर्न आनाकानी गरिरहेको छ ।

पाटन बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मण कुँवर भन्छन्–
तीन–तीन महिनामा अग्रिम भाडा तिर्ने व्यवस्था सम्झौतामा छ । तर, लबिम मलले ०७६ असोजदेखि भाडा तिरेको छैन । जरिवानासमेत गरेर दुई करोडभन्दा धेरै रकम तिर्न बाँकी छ । सार्वजनिक सम्पत्तिको दुरुपयोगको प्रवृत्ति बढेको छ । त्यसको मारमा पाटन क्याम्पससमेत परेको छ ।

‘तीन–तीन महिनामा अग्रिम भाडा तिर्ने व्यवस्था सम्झौतामा छ । तर, लबिम मलले ०७६ असोजदेखि भाडा तिरेको छैन । जरिवानासमेत गरेर दुई करोडभन्दा धेरै रकम तिर्न बाँकी छ,’ क्याम्पस प्रमुख लक्ष्मण कुँवरले भने, ‘सार्वजनिक सम्पत्तिको दुरुपयोगको प्रवृत्ति बढेको छ । त्यसको मारमा पाटन क्याम्पससमेत परेको छ ।’

‘सम्झौतापत्रबमोजिम प्रत्येक तीन–तीन महिनामा अग्रिम रूपमा तोकिएको बहाल रकम प्रथम पक्षलाई नबुझाएमा भाडा रकमको अनुपातमा पहिलो वर्ष १५ प्रतिशत र दोस्रो वर्ष २० प्रतिशतका दरले हुन आउने विलम्ब शुल्कसमेत थप गरी बहाल बुझाउनुपर्नेछ,’ क्याम्पस र लबिमबीच भएको सम्झौताको बुँदा नम्बर १२ मा उल्लेख छ, ‘तत्पश्चात् बहाल रकम नबुझाएमा द्वितीय पक्षले करार भंग गरेको भनिनेछ । २३ वर्षे लिज अवधिको २१ वर्ष समाप्त भएपछि नियमअनुसार बहाल रकम एक वर्षसम्म नबुझाएमा करार स्वतः भंग भएको मानिने छ ।’

दुई वर्षसम्म भाडा नतिरे स्वतः करार भंग हुने सम्झौताको व्यवस्था कार्यान्वयनमा क्याम्पसले आफैँले पनि तदारुकता देखाएको थिएन । केही दिनअघि मात्रै क्याम्पसले लिज सम्झौता के गर्ने भन्ने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । कार्यदलको प्रतिवेदनअनुसार अगाडि बढ्ने क्याम्पस प्रमुख कुँवरले बताए ।

पहिले विश्वविद्यालयको सम्पत्तिमा कर नलाग्ने व्यवस्था रहेको थियो । पछि विश्वविद्यालयको सम्पत्ति व्यापारिक प्रयोजनमा प्रयोग भएमा सम्पत्ति कर तिर्नुपर्ने व्यवस्था भएपछि विवाद सुरु भएको हो । लिज अवधिभर सम्पत्ति प्रयोग गर्नेले मालपोतबाहेकको कर तिर्नुपर्ने विश्वविद्यालयको दाबी छ । त्रिविको यस्तै प्रकृतिको मुद्दामा व्यापारिक रूपमा प्रयोग गर्नेले कर तिर्नुपर्ने फैसला अदालतले गरेको नजिर छ ।

लबिमले सम्झौताभन्दा बढी जग्गा पनि ओगटेको छ । ०५७ मा पाटन क्याम्पस र न्युरोडको विशाल बजार कम्पनीबीच पुल्चोकस्थित १० रोपनी नौ आना दुई दाम जग्गा लिजमा लिने–दिने सम्झौता भएको थियो । त्यतिवेला दुई वर्षको निर्माण अवधि र ३० वर्ष प्रयोग गर्ने सम्झौता थियो । सो संस्थाले लामो समय चलाउन सकेन । त्यसपछि प्रक्रिया पूरा गरेर उसले ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी प्रालिलाई हस्तान्तरण गरेको थियो । पहिलो सम्झौताको सारभूत परिवर्तन नहुने गरी १० चैत ०७२ मा दोस्रो सम्झौता भएको थियो । काठमाडौं विशाल बजारसँग एक लाख ६५ हजार वर्गफिट ओगट्ने गरि सम्झौता भएको थियो । पछि लबिमसँग एक लाख ९० हजार वर्गफिटमा भवन बनाउने सम्झौता भएको थियो । तर, उसले सम्झौताभन्दा १० हजार वर्गफिट बढी जग्गा ओगटेको छ ।

त्यति मात्र होइन, लबिमले सम्झौताअनुसार शिक्षक, कर्मचारी र विद्यार्थी संगठनलाई दिनुपर्ने रकमसमेत दिएको छैन । ती संस्थाहरूलाई सुरुमा तीन–तीन लाख र त्यसपछिका प्रत्येक दुई वर्षमा एक–एक लाख रुपैयाँ दिने सम्झौतासमेत कार्यान्वयन भएको छैन ।

अहिले लबिमले क्याम्पससँग अर्को बार्गेनिङ सुरु गरेको छ । लिज अवधि थपे बाँकी बक्यौता र सबै प्रकारको कर तिर्ने प्रस्ताव क्याम्पसलाई पठाएको छ । तर, क्याम्पसले कुनै जवाफ दिएको छैन । दुई वर्ष भवन निर्माण र २३ वर्ष सञ्चालन गर्ने गरी लबिमले ०७२ मा नै जग्गा लिजमा लिएको थियो । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।