जोडिनुहोस
  • होमपेज
  • होलीमा विशेष सुरक्षा योजनाः उपत्यकामा ड्रोनबाट निगरानी

होलीमा विशेष सुरक्षा योजनाः उपत्यकामा ड्रोनबाट निगरानी

काठमाडौँ ।नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आजदेखि तीन दिनका देशभर २९ हजार सात सय ३३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । उनले भने, “सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर सो सङ्ख्यामा प्रहरी परिचालन भएका छन्, विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ ।” होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्यूटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ ।

होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताए । उनले भने, “काठमाडौँ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ–ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ, उच्छृङ्खल गतिविधि गर्नेलाई कारवाही हुन्छ ।”

होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाका र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखिनै जाँचको व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् भने ३० वटा मोबाइल भ्यान परिचालन भएका छन् ।

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँले फागुपर्व ९होली० लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाको सुरक्षाव्यवस्थामा कडाइ गरेको छ । होली पर्वलाई सुरक्षित, मर्यादित बनाउन काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “हामीले सव्य, भव्य तरिकामा फागुपर्व मनाउन सबैमा आग्रह गरेका छौँ, कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिने छ ।”

यसवर्षको होली पर्वका लागि उपत्यकामा मात्रै दुई हजार पाँचसय पोशाकधारी तथा पाँच सय जना सादा पोशाकमा गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । होली पर्वमा काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लापसे गरी सवारी चलाउने, मापसे गरी हो–हल्ला गर्ने, सर्व साधारणलाई त्रसिद बनाउनेलाई कडा कारवाही गरिने भन्दै प्रहरीले अहिले ठाउँ ठाउँमा माइकिङ समेत गरिरहेको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता अधिकारीका अनुसार आज दिउँसो १२ बजेसम्म उपत्यकामा होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएका छैनन् । उनले भने, “होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएको खबर आएका छैनन्, घटना हुन नदिन प्रहरी निकै चनाखो छ ।”

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाईका साथ चेकजाँचको व्यवस्था गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए । उनले भने, “शान्त वातावरणमा होली मनाउन सबैमा आग्रह गरेका छौँ, होलीमा हुने सबैखाले गतिविधिहरू बिहानैदेखि ड्रोनबाट पनि निगरानी बढाइएको छ ।”

काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईका क्षेत्रमा भोलि होली पर्व मनाइँदैछ । यसवर्ष काठमाडौँमा मर्यादितरुपमा होली मनाइरहेको देखिएको छ । युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा आइ रङ खेलेर रमाइलो गरिरहेका देखिन्छन् । उनीहरु एकापसमा रङ र अविर साटासाट गरी रमाइलो गरिरहेका छन् । तर विगतका वर्षमा जस्तो जवरजस्ती बटुवा वा अपरिचित व्यक्तिलाई रङ फाल्ने तथा लोला हान्ने गतिविधि गरेका छैनन् ।

होलीपर्वलाई मर्यादित बनाउन प्रहरीले पनि गस्तीहरू बढाउने, माइकिङ गरी आ(आफै पर्व मनाउन र कसैलाई जवरजस्ती नगर्न आग्रह गरिरहेको छ । त्यसैगरी चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम पनि बढ्नसक्ने देखिएकाले त्यसो नगर्न पनि प्रहरीले आग्रह गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका