जोडिनुहोस
  • होमपेज
  • नदी नियन्त्रण आयोजना अन्तिम चरणमा

नदी नियन्त्रण आयोजना अन्तिम चरणमा

म्याग्दी। बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित सात वटा आयोजनाको काम चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने गरी काम अघि बढाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोडको लागतमा योजना सञ्चालन गरेको थियो । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माण अन्तिम चरणमा रहेको परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताए ।

“गलेश्वर, राममन्दिर, पर्वत बेनी र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्”, उनले भने, “बेनी नगरपालिका–२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।” नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो ।

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन गत वर्ष पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । बर्खा अघिनै काम सकिने निर्माण कम्पनीका सञ्चालक सुरेश खड्काले बताए ।

बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन रु दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले दुई करोड ६८ लाखमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन रु तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ ।

कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन रु चार करोड ३२ लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुुरु भएको छ । गत असारमा रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको तीन महिनामै काम सम्पन्न गर्ने चरणमा रहेको प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । रुपाताल एकीकृत विकास संरक्षण परियोजनाका प्रमुख कालीबहादुर शाहीले गत आर्थिक वर्षमा स्वीकृत भएको रु एक अर्ब १९ करोडको डिपिआर अनुसार बाँकी ठाउँमा नदी नियन्त्रणका लागि बजेट र योजना माग गरिएको बताए ।

नदी नियन्त्रण आयोजनाले तीव्रता पाएसँगै म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारका बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका