जोडिनुहोस
  • होमपेज
  • नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी

नेपालमा सुरुङ निर्माण गरिरहेको चिनियाँ कम्पनीले विश्व कीर्तिमान बनाएको चीनले दाबी गरेको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा विश्व कीर्तिमान बनाएको भन्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो देशको कम्पनीलाई बधाइ दिएका छन् ।

‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड कोभेकलाई नेपालमा दुई नयाँ विश्व कीर्तिमान बनाएकोमा बधाइ छ’ राजदूत सोङले भनेका छन ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको प्रगति मासिक १ हजार ५०३.३ मिटर नाघेको उनको भनाइ छ । चीनको यही कोभेक कम्पनीले २०२३ मा मासिक १ हजार २२४.१३ मिटरको विश्व कीर्तिमान बनाएको थियो । यो चिनियाँ कम्पनीले सुरुङ खन्ने कार्यमा दैनिक ७२.६८ मिटरको विश्व रेकर्ड बनाएको थियो ।

चिनियाँ कम्पनी कोभेकले ०७९ असोजदेखि सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न थालेको हो । सुरुङको कुल लम्बाइ १३ किलोमिटर हुनेछ । सुनकोशी नदीको पानी बागमतीको सहायक खोला मरिनमा खसालेर बारा, रौतहट, महोत्तरी र सर्लाहीमा सिँचाइ गर्ने सरकारको योजना छ । यामे आयोजनाबाट तराईको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ । यो आयोजनाबाट सिँचाइका साथै सुनकोशीको पानी मरिनमा झारेर करिब ४० मेगावाट बिजुलीसमेत निकाल्ने उद्देश्य छ । आयोजनाका अनुसार अहिले १२ किलोमिटर सुरुङ बनिसकेको छ । अब चाँडै ब्रेक थ्रु गर्ने तयारी भइरहेको यो परियोजना राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका