Mon Sep 26 2022
आर्थिक

आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने : पूर्वगभर्नर क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतका जस्तै बिस्तारकारी आउनेमा शंका रहेको बताउनु भएको हो ।

उहाँले बैंकहरुले उद्योगको क्षमता बिस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको बताउनुभयो । पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हेरक फोरमहरुमा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रुपमा भनेकाले शंका गर्ने स्थिति रहेको बताउनुभयो ।

उहाँले अहिले राष्ट्र बैंकले ब्याजदरको विषयमा ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत पु¥याएर व्यहारमा देखाएको दाबी गर्नुभयो । क्षेत्रीले यस्तो अवस्थाले अब बैंकमा रहेको रकमसमेत ट्रेजरी बिलमा जाने सम्भावना भएको भन्दै बैंकिङ निक्षेपमा समस्या यथावत रहने बताउनुभयो ।

पूर्वगभर्नर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलंकाको जस्तो परिस्थिति नरहेको बताउनुभयो । उहाँले श्रीलंकाको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुनसक्ने सम्भवना भने कायम रहेको बताउनुभयो ।