Fri Aug 19 2022
मुख्य खबर

छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैनः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नभएको बताइन । शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले त्यस विषयमा सरकारको १५ औँ पञ्चवर्षीय योजनामा समेत आइसकेको बताइन ।

उनले हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताइन । राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरुको सामना गर्न सक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानु पर्ने पनि बताइन ।

सोही कार्यक्रममा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धिकरण गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए । तर का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा पूर्ण समस्या रहेको र न्यायपालिकाले काम गर्नै सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे ।

उनले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिवद्ध हुनुपर्ने समेत बताउ । यसैबीच का.मु. प्रधानन्यायाधीश कार्कीले छुट्टै कानून विश्वविद्यालयको आवश्यक्ता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाए ।

यता नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताए । उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहज रुपमा जुनसुकै परिवर्तन गर्न सक्ने दावी गरे । उनले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकाले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने समेत बताए ।

उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । उनले देश र राजनीतिक दल पनि संविधान अनुसार नै चल्नुपर्ने बताए ।