Wed Aug 17 2022
मुख्य खबर

लमजुङमा ४० प्रतिशत रोपाई सकियो

 शान्ता कमली, लमजुङ- पहाडी जिल्ला लमजुङमा यसवर्ष धान रोपाईलाई तिव्र पारिएको छ । बिगतका बर्षहरुमा पानी नहुँदा बाँझो रहेको खेतमा समेत अहिले प्रशस्त पानी भएसँगै रोपाईलाई तिव्रता दिइएको हो । यसैबीच जिल्लामा अहिलेसम्म ४० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए ।

मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई चाँडै सुरु गरिएको छ । लमजुङका ठूला फाँट राइनासटार, धमिलि कुवाँ, रामचोक बेँसी, भलाखर्क, चक्र तिर्थ, भोर्लेटार, दुई पिप्ले, सोती पसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसय लगायतका स्थानमा असार नलाग्दै रोपाइँ गरे पनि केही ठाउँमा भने मकै पाकेसँगै रोपाई गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लमजुङका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या–२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस–३१२, मकवानपुर, वर्षे ३ हजार ४, मनसुली लगायतका हाइब्रिड जातको धान लगाउँदै आएका छन् । बेशीशहर नगरपालिकामा भने २० प्रतिशत भु–भागमा मात्रै रोपाई सकिएको बेसीशहर नगरपालिकाले बताएको छ ।

केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५० हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । तर पछिल्लो समय रोपाईको समयमा गाउँमा कामदार नपाउने समस्या भएको किसानहरुको भनाइ छ ।