Fri Aug 19 2022
देश

अति आवश्यक बाहेकका सेवा सम्बन्धित जिल्ला प्रशासनबाटै लिन राहदानी विभागको आग्रह

काठमाडौं । राहदानी विभागले अति आवश्यक बाहेकका सेवा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लिन सेवाग्राहीलाई आग्रह गरेको छ ।

काठमाडौं र काभ्रेमा आवेदन गर्नेहरूको हकमा एक हप्ता र अन्य जिल्लाको हकमा बढीमा १५ दिनभित्र सेवा प्रवाह भइरहेको स्मरण गराउँदै विभागले यस्तो भनेको हो ।

राष्ट्रिय युवा संघ नेपालले सेवामा ढिलाइ भइरहेको प्रति विभागको ध्यानाकर्षण गराएको थियो । संघको दबावपछि विभागले एक विज्ञप्ति जारी गर्दै अहिले पनि हरेक दिन ६५ सयलाई सेवा प्रदान भइरहेको बताएको छ ।

२४ सयको संख्यामा आवेदन दिने र ५ हजार भन्दा बढीको संख्यामा आपतकालिन सेवा प्रदान भइरहेको विभागले स्मरण गराएको छ ।

बिहान एकै पटक आउँदा उल्लेख्य भीड हुने हुँदा आवेदन फारममा भएको मिति र समयमा मात्रै आउन पनि विभागले आग्रह गरेको छ ।