Fri Aug 19 2022
Breaking News

अछामका विनोद शाही हत्या प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा किशोर विनोद शाहीको हत्यामा संलग्न आरोपमा प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

यसअघि जाहेरी दर्ता भएको मध्ये पाँचजनालाई पक्राउ गरेको र अन्य दुईजनालाई हिजो नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ ।