Fri Aug 19 2022
खेलकुद

महिला फुटबल टोलीकी कप्तान रेनुकाले बोकिन् चोट, आजै शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले चोट बोकेकी छिन् ।

एसियन गेम्सको बन्द प्रशिक्षणमा रहेकी कप्तान नगरकोटीले सोमबार एन्फा कम्प्लेक्समा प्रशिक्षणको क्रममा चोट बोकेकी हुन् ।

महिला टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको जानकारी गराए । नगरकोटीको चोटको शल्यक्रिया आजै बी एण्ड बी अस्पतालमा गरिने प्रशिक्षक महर्जनले बताए ।

‘अभ्यासका क्रममा उनको दुर्घटना हुन पुग्यो । उनको आज नै बेलुका शल्यक्रिया हुदैछ । केही समय उनी आराममा रहने छिन् । उनी मैदान बाहिर कति समय रहन्छिन् भन्ने कुरा बेलुका सम्ममा थाहा हुन्छ,’ मुख्य प्रशिक्षक महर्जनले भने।

चोट बोकेपछि रेनुकाले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भाबना देखिएको छ । नेपालले आगामी भदौ १३ देखि २५ गतेसम्म साफ च्याम्पियनसिप आयोजना गर्दैछ ।

मिडफिल्डर नगरकोटी विभागीय टोली एपीएफकी महत्वपूर्ण सदस्य हुन् ।