Fri Aug 19 2022
Breaking News

बाघ आक्रमण बारे बोल्दै प्रधानमन्त्री देउवाले भने, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरे ।

बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताए । ‘बाघको संरक्षण वृद्धि सुखद, नेपालले सन् २०१० रुसको सेन्ट पिटर्सवर्गमा गरिएको सम्मेलनको महत्वाकांक्षी योजना अनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ’, उनले भने ।

बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको उनको भनाइ छ । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताए । बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार निकायलाई उनले निर्देशन दिए । उनले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्टिय सहायता संस्थासँग समन्वय आवश्यक भएको धारणा राखे।

सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । सन् २०१० अघि १२१ बाघमात्र नेपालमा थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले सन् २०१० मा बाघको सङ्ख्या घटेकामा हाल उल्लेखनीय रुपमा बढेको बताए । नौ प्रजातिका बाघमध्ये विश्वमा तीन प्रजाति लोप भएर तीन प्रजातिमात्र थियो । विश्वका १३ देशले गरेको प्रतिबद्धता अनुसार नेपालले दोब्बर बनाउन सफल भएको जानकारी पनि उनले दिए । बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको छ ।