Mon Sep 26 2022
देश

कांग्रेसको मति कहिल्यै सप्रिएन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको बताएका छन् । तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।

‘आज पनि एउटा देशभक्त शान्तिपूर्ण ढंगले जनतालाई गोलबद्ध गरेर जनताको हितमा काम गर्ने देशभक्तको हत्या हुनसक्छ,’ उनले भने,‘नेपाली कांग्रेसले विगतदेखि नै यस्ता देशभक्तको हत्या गर्ने काम गर्दै आएको थियो । अहिले पनि गर्न सक्छ ।’

कांग्रेसको मति त्यस बेलादेखि अहिलेसम्म परिवर्तन नभएको पनि अध्यक्ष ओलीले बताए । ‘त्यस बेलादेखि अहिलेसम्म कांग्रेसले मति परिवर्तन त गरेको छैन,’ उनले भने ।

विदेशी सेनालाई लिएर दमन गर्ने, गिरफ्तार गर्ने मान्छे कुटपिट गर्ने काम नेपाली कांग्रेसले नै गरेको अध्यक्ष ओलीको दाबी छ ।