Sat Oct 1 2022
देश

दर्ता भएका दलका पदाधिकारीदेखि सदस्यसम्मले १५ दिनभित्र सम्पति विवरण पेश गर्नुपर्ने

काठमाडौं । दर्ता भइसकेका राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले १५ दिन भित्र चल अचल सम्पतिको विवरण निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने भएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा १ को व्यवस्थाअनुसार आयोगको साउन १५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगमा दर्ता भइसकेका राजनीतिक दललाई पदाधिकारी र केन्द्रीय सदस्यले.आफ्नो सम्पत्तिको विवरण दलको केन्द्रीय कार्यालयसमक्ष पेश गरे नगरेको जानकारी आयोगले तोकेको ढाँचामा तयार गरी १५ दिनभित्र पेश गर्न भनिएको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

उनका अनुसार आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने भनी भएको निर्णयानुसार पत्राचार गरिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

उपदफा २ मा उक्त विवरण प्राप्त भएपछि त्यस्तो कार्यालयले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेश गर्ने र नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेश गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गर्नुपर्नेछ ।