Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । उनले रणजी ट्रफी टिम दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।

५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए ।

‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर । म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो बनाउनका लागि काम गर्न चाहन्छु,’ क्यानसँगको सम्झौतापछि उनले भनेका छन् ।

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।