Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

एसिया कपका लागि भारतको टिम घोषणा

काठमाडौं । साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ ।

भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । पछिल्लो समय टिम बाहिर रहदै आएका पूर्व कप्तान विराट कोहली समेत टोलीमा अटाएका छन् ।

कोभिड १९ का कारण केही समय देखि टोली बाहिर रहेका केएल राहुल समेत टोलीमा फर्किएका छन्।

एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । भारत समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।

प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।

टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।

युएईमा प्रतियोगिता रहे पनि आयोजक भने श्रीलंका नै रहेको छ ।

Image