Sat Oct 1 2022
अन्तर्राष्ट्रिय

रुसको रकेटमा इरानको भूउपग्रह अन्तरिक्षमा पठाइयो

कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको छ । गैरसैन्य प्रयोजनका लागि भनिएको खैय्यम भूउपग्रहलाई मंगलबार सफलतापूर्वक अन्तरिक्षमा पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

गत महिना वासिङटन पोष्टले पश्चिमा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै सो भूउपग्रह रुसले युक्रेन युद्धमा सहयोगका लागि प्रयोग गर्न सक्ने भन्दै समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई इरानको स्पेस एजेन्सी (आईएसए) ले खण्डन गर्दै सो भूउपग्रहमा सुरुको दिनदेखि आफ्नो नियन्त्रण हुने स्पष्ट पारेको थियो ।

भूउपग्रहमा पठाइने निर्देशन र त्यहाँबाट प्राप्त हुने तथ्याङ्क इरानका इन्जिनियर र वैज्ञानिकहरूको नियन्त्रणमा रहने र अन्य कुनै देशलाई त्यसको अनुमति नहुने आइएसएको भनाइ थियो ।