Wed Sep 28 2022
खेलकुद

एन्फाको निर्णय १० खेलाडी बोलाउने, अलमुताइरीले डाके अन्जन र तेजलाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले प्रशिक्षक विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

बन्द प्रशिक्षण छाड्नेमा रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट थिए ।

बन्द प्रशिक्षण छाडेका १० खेलाडीले एएफसी एसियन कप छनोट गुमाएका थिए । १० खेलाडीलाई साथ दिएको कारण कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई समेत प्रशिक्षक अलमुताईरीलाई एसियन कप खेल्ने टोलीमा राखेका थिएनन् ।

एन्फाले सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेपनि प्रशिक्षक अलमुताईरीले भने दुई खेलाडीको नाम मात्र सिफारिस गरेको छ ।

आगामी सेप्टेम्बरमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि अलमुताईरीले २६ खेलाडीको सूची एन्फालाई पठाएका छन् । जसमा टिमबाट निकालिएका अन्जन विष्ट र तेज तामाङ मात्र अटाएका छन् ।

यस्तै एसियन कपमा टिममा नरहेका जगजित श्रेष्ठ, दिनेश हेम्जन, मनिष मगर र प्रशान्त अवस्थीलाई समेत टोलीमा डाकिएको छ ।

प्रशिक्षक अलमुताईरीले पठाएको सूचीमा यू-२० टोलीका कप्तान आयुष घलान रहेका छैनन् । यस्तै एसियन कप छनोट खेलेका दर्शन गुरुङ र सन्तोष तामाङ छैनन् । उनीहरु अष्ट्रेलिया गईसकेका छन् ।

एन्फाले बंगलादेशसँगको मैत्रीपूर्णको मिति घोषणा गरेको छैन । एन्फाले प्रशिक्षणका लागि डाकिएको खेलाडी औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

एन्फाले दोस्रो कार्यसमितिको बैठकपछि मैत्रीपूर्णको मिति र बन्द प्रशिक्षणमा पर्ने खेलाडीको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । एन्फाको कार्यसमिति बैठक भोलि बिहीबार एन्फा कम्प्लेक्समा बस्दैछ ।

अलमुताईरीले एन्फालाई पठाएको खेलाडीको सूची –

एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ, निरकुमार राई,पुजन उपरकोटी,राजन गुरुङ,रोशन राना मगर, सेसेहाङ आङदेम्बे, शिब गुरुङ, सुमन अर्याल,सुनिल बल, टेकेन्द्र सिंह थापा, सुरज ज्यु ठकुरी,आकाश बुढा मगर,प्रशान्त अवस्थी,जगजित श्रेष्ठ, मनिष मगर,अन्जन विष्ट,तेज तामाङ, दिनेश हेम्जन