Fri Oct 7 2022
देश

बझाङमा नाबालक छोराछोरीसहित आमाको शव भेटियो

कैलाली । बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

उनीहरु घरभन्दा डेढ सय मिटर परको बेडुँको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए ।

मृतक महिलाका श्रीमान पुष्कर पार्की गएराति भारतबाट घर आएका थिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटना स्थलमा पुगेपछि थप तथ्य थाहा हुने प्रहरी निरीक्षक अवस्थीले बताए ।