Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

जापानमा जनसंख्या संकटः १९५० पछिको सबैभन्दा ठूलो गिरावट

काठमाडौँ । १ जनवरी, २०२२ सम्म जापानको कुल जनसंख्या १२५।९३ मिलियन थियो, जुन १९५० मा रेकर्ड गरिएको तथ्याङ्क पछि सबैभन्दा ठूलो गिरावट हो ।

यो पछिल्लो सरकारी तथ्याङ्क बुधबार सार्वजनिक भएको हो । रिपोर्टका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा मृत्युको संख्या जन्म भन्दा बढि भएको छ र कोभिड–१९ सीमा नियन्त्रणहरूले विदेशीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ, जसले जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ, जुन अघिल्लो बर्षको भन्दा ७ लाख २६ हजार ३४२ ले कम छ । यो अघिल्लो बर्ष भन्दा ०.५७ प्रतिशतले कम हो ।

मन्त्रालयका अनुसार, जापानी नागरिकको संख्या २०२१ मा ६ लाख १९ हजार १४० ले घटेर १२ करोड ३२ लाख २३ हजार ५६१ रहेको थियो । जसमा १४ लाख ४० हजारको मृत्यु हुदा ८ लाख १० हजारको जन्म भएको थियो ।

महामारीको बीचमा कडा सीमा प्रतिबन्धका कारण, जापानमा बसोबास गर्ने विदेशीहरूको संख्यामा पनि ठुलो गिरावट आएको छ ।

श्रमिक जनसङ्ख्या मानिने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको अनुपात कुल जनसङ्ख्याको रेकर्ड ५८ दशमलव ९९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ भने ६५ वर्षभन्दा माथिका मानिसको प्रतिशत २९ प्रतिशत रहेको छ ।