Mon Sep 26 2022
देश

आईजीपी सिंह भन्छन्- एकपटकको कारबाहीले सरुवा बढुवामा सधैँ छुटाउन मिल्दैन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एकपटक भएको कारबाहीका आधारमा प्रहरी कर्मचारीलाई सरुवा-बढुवामा सधैँ छुटाउन नमिल्ने बताएका छन् ।

पदभार सम्हालेको एक सय दिनको अवसर पारेर प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले भने, ‘कारबाहीको समयभित्र चाहीँ बढुवा गर्न मिल्दैन । नत्र कुनै समय भोगेको कारबाहीमा सधैँभरि सरुवा-बढुवामा छुटाउने भन्ने हुँदैन । त्यसो भए कारबाहीमा परेपछि जागिर छाडे भइगयो नी ।’ पछिल्लो समय शक्ति केन्द्रको दबाबमा प्रहरीको सरुवा र बढुवा हुनेक्रम बढेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ ।

उनले सरुवा-बढुवामा उत्कृष्ट कार्य सम्पादनलाई आधार बनाइएको पनि दाबी गरे । उनले प्रहरीको कार्य सम्पादनमा राजनीतिक नेतृत्वको प्रभावमुक्त हुने पनि बताए । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै राजनीतिक दलको दबाब र प्रभावमा परेर काम नगर्ने उनले प्रतिबद्धता जनाए ।

‘प्रहरीले आफ्नो काम गर्छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनबाट पनि त्यो देखिएको छ’, उनले भने । आसन्न निर्वाचनका लागि म्यादी प्रहरीको संख्या बढ्न सक्ने पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी सिंहले मतदान स्थलमा मतपेटिकाको संख्या बढ्ने भएकाले म्यादी प्रहरी पनि बढी आवश्यक पर्ने बताए । स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा प्रहरीले किन नबुझिने सीसीटीभी फुटेज पठाएको कि नबुझिने बनाएर सरकारको गुन तिर्न खोजेको भन्ने प्रश्नमा आईजीपि सिंहले आफूलाई फरेन्सिक परीक्षणको विषयमा जानकारी नभएको र त्यसको जवाफ दिन नसक्ने बताए ।