Thu Oct 6 2022
खेलकुद

टी–२० लिगभन्दा अगाडि नै नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट हुने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी गरेको छ । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ सम्म निर्धारण गरिएको छ ।

सरकारले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नुअघि नै क्यानले नेपाल टी–२० लिगको मिति तोकेको हो । दुई प्रतियोगिता फरक फरक समयमा आयोजना गर्न क्यान र राष्ट्रिय खेलकुद परिषद (राखेप)बीच समन्वय भइरहेको थियो ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फ दुवै प्रतियोगितालाई सहज हुने गरी मिति उपलब्ध गराउन राखेप लचक भएको छ । नवौं राष्ट्रियका लागि भदौ १५ गतेसम्म खेलको दर्ता र भदौ २५ गतेसम्म खेलाडी दर्ता गरिसक्नुपर्नेछ । नवौं राष्ट्रिय खेलकुदका सचिवालय प्रमुख फणिन्द्र पौडेलेले पुरुष क्रिकेट प्रतियोगिता अगाडि नै सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए ।