Mon Sep 26 2022
मुख्य खबर

सर्पले टोकेर मोरङमा एक युवकको मृत्यु

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–९ मा सर्पले टोकेर एक युवाको मृत्यु भएको छ। बुधबार राति १२ बजेतिर सर्पले टोक्दा सुनवर्षी–९ डाइनियाका २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो।

रातको समयमा बाहिरबाट घर फर्कने क्रममा सिंहको खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन।

प्रहरीका अनुसार घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर उनले परिवारमा जानकारी गराएका थिए। त्यसलगत्तै आमाले उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार शव रंगेली अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ।