Thu Oct 6 2022
अन्तर्राष्ट्रिय

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबायाले ग्रिन कार्डका लागि आवेदन दिए

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा बस्नका लागि ग्रीन कार्डका लागि निवेदन दिएका छन् । गत महिना श्रीलंकामा जनताले उनको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन गरेका थिए जसका कारण उनी देश छोडेर भागेका थिए । मिडिया रिपोर्टका अनुसार उनकी श्रीमती र छोरा अमेरिकामा सेटल भइसकेका छन् ।

श्रीलंकाको पत्रिका डेली मिररले स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका राजापाक्षेका वकिलहरूले गत महिना मात्रै उनलाई ग्रीन कार्ड दिने प्रक्रिया सुरु गरेको दाबी गरेको छ । उनकी श्रीमती लोमा राजपाक्षे पहिले नै अमेरिकी नागरिक भइसकेकाले उनले ग्रीन कार्डका लागि आवेदन दिन सक्नेछन् ।

गोटाबायासँग अमेरिकी नागरिकता पनि थियो, तर २०१९ मा श्रीलंकाको राष्ट्रपति चुनावमा भाग लिन उनले अमेरिकी नागरिकता त्यागे ।

राजापाक्षे हाल आफ्नी श्रीमतीसँग बैंककको एक होटलमा छन् । यसअघि उनी नोभेम्बरसम्म थाइल्याण्डमा बस्ने भनिएपनि अहिले उनले आफ्नो योजना रद्द गरेका छन् । उनी अगस्ट २४ मा श्रीलंका फर्कने कार्यक्रम छ । सुरक्षा कारणले गर्दा उनीहरूलाई थाइल्याण्डमा स्वतन्त्र रूपमा बस्न दिइँदैन । यहाँ प्रहरीले उनीहरुलाई होटलबाट बाहिर ननिस्कन सल्लाह दिएको छ ।

श्रीलंकाली सेनाबाट समयपूर्व अवकाश लिएपछि राजापाक्षे सूचना प्रविधिको क्षेत्रमा लागेका थिए । यसपछि सन् १९९८ मा उनी अमेरिकामा बसे । उनी सन् २००५ मा श्रीलंका फर्किए । गोटाबाया श्रीलंका फर्किएपछि पूर्वराष्ट्रपतिका हैसियतले उनलाई घर दिने र सरकारबाट सुरक्षा दिने विषयमा मन्त्रिपरिषद्ले छलफल गर्नेछ ।