Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ७-१ गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे ।

नेयमारले दुई गोल गर्दा लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गरे । लिलका जोनाथन बाम्बाले एक गोल फर्काए ।

खेलको आठ सेकेण्डमै एमबाप्पेले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मेस्सीले पीएसजीको अग्रता दोब्बर बनाए ।

खेलको ३९ औं मिनेटमा हाकिमीले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो । ४३ औं मिनेटमा नेयमारले गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।

नेयमारले नै ५२ औं मिनेटमा गोल गरेपछि पीएसजीले ५-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा लिलका जोनाथनले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए ।

खेलको ६६ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६-१ को बनाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजीले ७-१ गोलको जित निकाल्यो ।

पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ ।

पीएसजी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।