Sat Oct 1 2022
आर्थिक

सञ्चार मन्त्रालयद्वारा ७ अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरूबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धीहरुको सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनले मन्त्रालय र अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ संकलन भएको बताए । उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको पनि उल्लेख गरे । मन्त्री कार्कीले आ.व. २०७८/०७९ मा कुल बजेटको ८०. ६१ प्रतिशत खर्च भएको पनि जानकारी दिए ।

मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्ण रुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताए । उनले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आवद्ध गरिएको जानकारी दिए ।

चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ । त्यस्तै, वरिष्ठ चलचित्र कलाकारहरुको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बीमा कार्यक्रम शुरु गरिएको उनले बताए ।

उनले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुने बताए । मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताए । उनले कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताए ।