Fri Oct 7 2022
देश

पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै, तनहुँमा १५ गतेलाई पेशी तोकियो

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको नयाँ पेशी तोकिएको छ ।

नवलपुर जिल्ला अदालतमा आज यो मुद्दामा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार नेपाल सरकार वादी र शाह प्रतिवादी रहेको यो मुद्दा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ ।

तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानून व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए ।

उनका अनुसार अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छाड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्नेछ । पल यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।