Mon Sep 26 2022
मुख्य खबर

भन्सार छलीका ७८ लाखभन्दा बढीको समान प्रहरीद्वारा बरामद

जनकपुरधाम– धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाबाट ७८ लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सामानहरू बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नंं १ वाट ७३ लाख ४२ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा लगायतका सामान बरामद गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी जानकारी दिए ।

प्रहरीको गस्ती टोलीलाई भन्सार छली गरेर ज १ च ११५१ नम्बरको पिकअपमा लोड गरेको अवस्थामा चालक गाडी छाडेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अर्को टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नंं १३ मा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको १ लाख ११ हजार ६ सय ६० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ ।

यसैगरि जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ वाट ३ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको मोबाइलका डिस्प्ले लगायतका सरमानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले बरामद गरेको सबै सामानको मूल्य ७८ लाख २५ हजार ८ सय ६० रुपैयाँ बराबरको रहेकोमा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको पनि प्रहरीले जनाएको छ । साथै यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।