Thu Oct 6 2022
Breaking News

धरान पुगेर वृक्षरोपण गर्दै प्रचण्डले भने – माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग गरेको बाचा पूरा गरेका छन् । दुई साता अघि काठमाडौं आएका बेला साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए । सो क्रममा प्रचण्डले छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका थिए । आज धरान पुगेर साम्पाङसँगै वृक्षरोपण गरेर प्रचण्डले सो बाचा पुरा गरेका हुन् ।

धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

वृक्षारोपण गर्दै प्रचण्डले हर्क साम्पाङ बारे भने – ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भिरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नु भएको छ । म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहार बाट, उहाँको आचरणबाट प्रेरणा लिन म अनुरोध गर्न चाहान्छु ।’

वृक्षारोपण गर्दै उनले भने -‘मैले आज यो वृक्षारोपण गर्दै गर्दा नेपालका एकजना प्रगतिशिल गीतकार पनि, असाध्यै लोकप्रिय जेबी टुहुरेलाई सम्झेको छु । आज जेबी टुहुरेको स्मृति दिवसको दिन पनि हो । र मेरो यो वृक्षारोपण उहाँकै लागि समर्पित भएको म घोषणा गर्न चाहान्छु ।’