Fri Oct 7 2022
देश

विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माण सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन तथा सशस्त्रका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्‍याउने सम्झौता भएको छ । गैरनविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्रको प्रधान कार्यालय हल्चोकमा आज आयोजित कार्यक्रमका बीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा सो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्यासको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउनुहुँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ ।

विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ ।

इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सवै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरुको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।