Tue Sep 27 2022
खेलकुद

जारी एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतको सुखद सुरुआत

काठमाडौं । साविक विजेता भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले सुखद सुरुआत गरेको हो।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित रहदै ३३ रन बनाए । सूर्यकुमार यादव १८ रनमा आउट हुँदा कप्तान रोहित शर्माले १२ रन बनाए । केएल राहुल सुन्य रनमा आउट भए ।

पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए ।

फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए । शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए । भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ ।

पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।