Tue Sep 27 2022
अन्तर्राष्ट्रिय

रियलको लगातार तेस्रो जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार तेस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पानियोललाई ३-१ गोल अन्तरले हराउँदै रियलले तेस्रो जित निकालेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिनिसियस जुनियरको नाममा एक गोल रह्यो ।

स्पानियोलका जोसेलुले एक गोल फर्काए । खेलको १२ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।

खेलको ४३ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पानियोललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयको छैटौं मिनेटमा बेन्जामिन लेकोम्टेले रातो कार्ड पाएपछि स्पानियोल १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको इन्जुरी समयको दशौँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

यस जितसँगै रियलले ३ खेलमा ९ अंक जोडेको छ । रियल शीर्ष स्थानमा रहेको छ ।

स्पानियोल १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।