Sat Sep 24 2022
Breaking News

बालेनविरुद्ध अवहेलनाको मुद्दामा ३ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)लाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा ३ दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर रिटलाई लिएर गरेको टिप्पणीका कारण बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो।

अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए। अधिवक्ता जोशीको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको सोमबारको इजलासले ३ दिनभित्र जवाफ दिन भन्दै बालेन समेतका नाममा आदेश जारी गरेको हो।

नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो।