Thu Oct 6 2022
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बाढीबाट सवा ३ करोड प्रभावित

इस्लामावाद (सिन्ह्वा) : पाकिस्तानमा बाढीपहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन्। बाढीपहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ।

गत मध्य जुनमा सुरु भएको मनसुनपछिका वर्षाजन्य घटनामा ठूलो धनजनको क्षति भएको छ। सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ। देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै १ करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ। बाढीपहिरोका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ। सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्ताले जनाएका छन्।

यस वर्षको प्राकृतिक प्रकोप तीस वर्षयताकै बढी घातक देखिएको प्राधिकरणका अधिकारीले जानकारी दिएका छन्। अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरोलगायत घटना भएको प्राधिकरणले जनाएको छ। बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन्।