Sat Oct 1 2022
मुख्य खबर

नेपाल विद्युत प्राधिकरणद्वारा काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालन

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ ।

आज नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न सकिने बताउनुभएको हो ।

नेपालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको भन्दै मन्त्री भुसालले आन्तरिक स्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएको भन्दै प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताउनु भयो । विद्युतीय सवारी एक घण्टाभित्र पूर्ण चार्ज गर्न सकिने र औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन खोल्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ ।

विद्युत खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने प्राधिकरणको योजना छ ।