Sat Oct 1 2022
देश

देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिँदा न्यायाधीशलाई आश्वासन दिइएको आरोप

काठमाण्डौ। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासन दिइएको आरोप निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले लगाएका छन्। महाभियोग सिफारिस समितिमा बुधबार जवाफ दिने क्रममा राणाले २०७८ असार २८ गते भएको फैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्न गरेका हुन्।

प्रधानन्यायाधीशका रूपमा राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले त्यस दिन २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। सोही आश्वासनका कारण देउवालाई प्रधानमन्त्री बनाउने परमादेश गर्न बाध्य पारिएको उनको दाबी छ। देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशको पक्षमा राणा थिएनन्। एमालेले सो फैसलाको विरोध गर्दै त्यसमाथि प्रश्न उठाउँदै आएका बेला प्रधानन्यायाधीश राणाले समितिमै उपस्थित भएर आश्वासन दिएर सो फैसला गराइएको दाबी गरेका हुन्।