Sat Oct 1 2022
देश

राहदानी विभाग अगाडिको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन

काठमाण्डौ। काठमाण्डौ महानगरले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन निर्देशन दिएको छ। महानगर प्रहरीसहित पुगेको महानगरको टोलीले आज दिएको निर्देशनपछि रेष्टुरेन्टले आफ्ना सामग्री हटाउन सुरु गरेको महानगर प्रहरीले जनाएको छ।

काठमाडौँ महानगरले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि निरन्तरता दिएको हो। त्यसलगत्तै महानगरको टोली नारायण चौर सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड हेर्न पुगेको थियो। सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दावीसहित नक्सा देखाएको थियो। सेन्ट्रल प्लाजाले देखाएको नक्सा र महानगरको नक्सा विभागमा रहेको सो भवनको नक्सा तुलना गरेर मात्र निर्णयमा पुग्ने भन्दै महानगरको टोली कारबाही बिना नै फर्किएको छ।