Thu Oct 6 2022
मुख्य खबर

कांग्रेस र एकीकृत समाजवादीलाई चुनाव लाग्यो

अमृत ढकाल – सत्ता गठबन्धनका दलहरुबीच सिटि बाँडफाँटको विषय पेचिलो बन्दै गएका बेला नेपाली कांग्रेस र नेकपा एसले भने धमाधम उम्मेद्वारको नाम सिफारीस गरिरहेका छन् ।

कार्यदल बनाएर अघि बढ्दा समेत सत्तागठबन्धनमा सिटबाँडफाँटको विषय टुंगीएको छैन । समस्याको समाधान खोज्नु पर्ने बेला कांग्रेस र नेकपा एसले एक पक्षीय रुपमा उम्मेद्वारको नाम सिफारिस गर्दा सिट बाँडफाँटमा झनै सकस पर्ने देखिएको छ ।

नेकपा एसले ईलाम, सुनसरी काठमाडौं, पाल्पा, चितवनलगायतबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि हालसम्म एक सय भन्दा बढीको नाम सिफारीस गरेको छ । यस्तै नेपाली कांग्रेसले पनि स्याङजा, कास्की, चितवन लगाएतका जिल्लाहरुमा धमाधम उम्मेद्वारको नाम सिफारीस गरेको छ ।

एक पक्षीय ढंगले उम्मेद्वार सिफारीस गरेपनि गठबन्धन कायम रहेको अवस्थामा धेरै नेतारुले टिकट नपाउने निश्चित छ । सिफारीस गरिएका नेताहरुको धारणा भने यस्तो छ ।

स्थानीय तहको निर्वाचन देखिनै असन्तुष्ट नेकपा एसले सम्मानजनक बाँडफाट नभए गठबन्धनबाट बाहिरीने चेतावनी बारम्बार दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त सिट बाँडफाँटमा बलमिच्याँई गरे कांग्रेसलाई ठेगान लगाउने र एमाले बाहेकका वाम शक्तिबीच तालमेल गर्ने भन्दै आएका छन् ।

सिट बाँडफाँटको टुंगो नलागेको अवस्थामा पनि यो आन्तरिक प्रक्रिया भएकोले गठबन्धनमा असर नपर्ने नेकपा एसका उपमहासचिव डा गंगाधर तुलाधरको भनाइ छ ।

कांग्रेसले एकसय, माओवादीले ६० र नेकपा एसले २० सिट दाबी गरेका छन । जनता समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

बामदेव गौतम पनिसहभागी भएपछि एक सिट दिनु पर्ने गठबन्धनको बाध्यता छ । डा. बाबुराम भट्टराईले पनि दुई भन्दा धेरै सिटको दाबी गरेको बताइएको छ । अझै महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि गठबन्धनमा सहभागी गराउने विषयले सिट बाँडफाटमा चुनौती थपिएको छ ।