Wed Sep 28 2022
देश

ट्राफिक नियम उल्लंघन गरी भाग्ने ६३ जना दुईपाङ्गे सवारी चालक कारबाहीमा

काठमाडौं । विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ वटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक कारबाहीमा परेका छन् ।

सीसीटीभीमा कैद भएको भिडियोका आधारमा उनीहरुलाई कारबाही गरिएको हो । लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

यससँगै, यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारवाही गरिएको छ । भदौ १ गतेदेखि १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४२० जना चालकमध्ये ट्राफिक प्रहरीले खोजी गरी ल्याएर आएका ९७ जना चालकमध्ये ६३ जनालाई कारवाही गरिएको हो ।

अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सीसीटीभी फुटेजको आधारमा खोजि गरि गर्ने कारबाहीलाई थप तीव्रता दिँदै अगाडी बढ्नेछ ।