Mon Sep 26 2022
मुख्य खबर

नारायणहिटी संग्रहालयलाई ऐतिहासिक महत्व झल्किने गरी विकास गरिनुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

आज पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्ती सम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उहाँले बताउनु भयो । अध्यक्ष नेपालले गणतन्त्रको छुट्टै संग्रहालय बनाउनुपर्ने भन्दै नेपालमा विभिन्न जातजाति र भाषाहरुनलाई जनाउने जातिय संग्रहालय हुनु पर्नेमा पनि जोडदिनुभयो ।

अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले अदालत विकासप्रेमी हुनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनु भयो ।