Fri Oct 7 2022
मुख्य खबर

लमजुङमा अलैंची टिप्न सुरु

लमजुङका विभीन्न गाउँमा अलैची टिप्न शुरु भएको छ । सात सय मिटर देखि १२ सय मिटर उचाईमा लगाइएको अलैची टिप्न सुरु गरिएको हो । अलैंची पाकेपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् ।

अहिले लमजुङका विभिन्न गाउँमा धमाधम अलैंची टिप्न सुरुभएको छ । अलैची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि अहिले गाउँ फर्किएका छन् । विशेषगरी कोरोनाका कारण शहर बजारमा बस्नेहरु गाउँ फर्किएर कृषि कर्ममा व्यस्त हुन थालेपछि लमजुङमा अलैंची खेति फस्टाइरहेको छ ।

जिल्लाका किसानहरुले भदौ पहिलो हप्तादेखि अलैची टिप्न सुरु गरेका हुन् । यतिबेला बाहुनडाँडा ,ताराचोक शेरा, कुप्लीङ र दुराडाँडा लगायतका ठाउँमा अलैंची टिपाइ भइरहेको छ । किसानहरुले लगाएको डम्बरशाही, जिर्मले र साउने जातको अलैची टिप्न सुरु गरिएको हो ।

तामाङका अनुसार अलैंची तीन चरणमा टिप्ने गरीन्छ । सात सय देखि १२ सय मिटर उचाईमा भदौको पहिलो साता अलैची टिपीन्छ । यस उचाईमा साउने, जिर्मले र डम्बरशाही जातका अलैची रोपीन्छ ।

१२ सय देखि १६ सय मिटर उचाईमा गोलशाही जातको अलैची असोजको पहिलो साताबाट टिपीन्छ । त्यस्तै १६ सय देखि २२ सय मिटर उचाईमा रामशाही र भलाङ्गे जातको अलैची कार्तीकको पहिलो हप्ताबाट टिप्न सुरु गरीन्छ ।

लमजुङका अलैंची कृषकले गतवर्ष अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेको तथ्यांक छ । लमजुङमा तीन हजार ५ सय क्वीन्टल अलैंची दाना विक्रीबाट कृषकहरुले उक्त रकम आम्दानी गरेका हुन् ।

एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार गरिएतापनि एक हजार दुई सय हेक्टर क्षेक्रफलमा अलैँची उत्पादन हुदैँ आएको छ । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाको रुपमा समेत परिचित हुदैँ गएको छ ।