Thu Oct 6 2022
मुख्य खबर

सम्पती शुद्धिकरणका लागि चार वटा ऐन संशोधन गर्ने तयारी

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पती शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले सरकारले सम्पती शुद्धिकरणका लागि चार वटा ऐन संशोधन गर्न लागेको बताए ।

वित्तीय अपराध र आतंकवादी गतिविधिसँग संलग्न आर्थिक क्रियाकलापको निगरानी गर्ने अन्तर्राष्ट्रिय कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफको मापदण्डलाई प्राथमिकता दिंदै चार वटा ऐन संशोधन गर्न लागेको सचिव ज्ञवालीले बताए ।

उनले सम्पती शुद्धिकरण ऐनमा ४० वटा कसुरमा अनुसन्धान गर्ने निकायहरु फरक भएकाले तालमेल हुन नसकेकाले ऐन संशोधन गर्नुपरेको बताए ।

उनले विश्वमा सम्पती शुद्धिकरणको ठाउँ भनेको क्यासिनो मानिने भएकाले नेपालको पर्यटन ऐन संशोधन गरी क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिने व्यवस्था परिर्वतन गर्ने बताए ।

सचिव ज्ञवालीले हुण्डी कारोबार सबैभन्दा जोखिमको क्षेत्र रहेको भन्दै अपराध संहित नै संशोधन गरेर हुण्डीलाई अपराध सरह फौजदारी कसुर बनाएर लैजाने गरी ऐनमा संशोधन गर्न खोजेको जानकारी दिए ।

उनले घरजग्गा कारोबारलाई पनि परम्परागत किन्ने र बेच्नेको सहमति भन्दा पनि रियल स्टेड कम्पनीमार्फत कारोबार गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागेको बताए । सचिव ज्ञवालीले वित्तिय अपराधमा राजनीतिज्ञ र कर्मचारीहरुको बुझाइमा एकरुपता नभएको भन्दै एकरुपता हुनुपर्ने बताए ।

त्यस्तै कानून, न्याय तथा संघिय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले सम्पती शुद्धिकरणको विषयमा राजनीतिज्ञ र व्यवसायीहरु नयाँ सोंचमा जान नसकेको बताए ।

उनले सम्पती शुद्धिकरणको विषय परम्परागत सोंचबाट नै अगाडि बढेको बताए । उनले सम्पती शुद्धिकरणको विषयमा अनुसन्धान गर्ने कर्मचारी नै डराउने गरेको बताए । सचिव सापकोटाले नेपाल क्यास अर्थतन्त्रबाट प्लाष्टिक अर्थतन्त्रमा नगएसम्म गाह्रो हुने बताए ।

सचिव सापकोटाले अन्तराष्ट्रिय रुपमा सम्पती शुद्धीकरण सम्बन्धि कानून विगतको भन्दा कडा आउने बताए ।