Sat Oct 1 2022
मुख्य खबर

दार्चुलामा असहाय, अशक्त र अपांगता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता

जिल्ला प्रशासन कार्यालयले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ ।

नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको हो । लामो समयदेखि हिँड्डुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट बञ्चित रहेका महाकाली नगरपालिका–३ बाजका ६६ वर्षीय जयसिंह महरलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए ।

‘वडा कार्यालयको जानकारीअनुसार महरलाई घरमै पुगेर नागरिकता वितरण गर्न पाउँदा निकै खुसी छौँ,’ उनले भने, ‘यस्ता व्यक्ति अझै जिल्लामा हुनसक्ने भएकाले सूचना दिएर सहयोग गरौँ ।’ यसअघि गत भदौ ८ गते सोही नगरपालिका–८ धापका ४९ वर्षीय रामदत्त जोशीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

विगत १५ वर्षदेखि प्यारालाइसिस भएर नागरिकता पाउन नसकेका जोशीलाई सहायक प्रजिअ साउदको टोलीले नागरिकता दिएको हो । जिल्ला प्रशासनले जिल्ला सदरमुकामसम्म आउन नसक्नेलाई घरैदैलोमै नागरिकता प्रदान गरिने जनाएको छ ।