Fri Oct 7 2022
Uncategorized

कुइँँकेलको दाबी फिर्ता, काठमाडौं- ४ मा एमालेबाट डा. भट्टराईको एकल नाम सिफारिस

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई सर्वसम्मत सिफारिस भएका छन् । अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि भट्टराईको एकल नाम सिफारिस भएको हो ।

बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाडौंका पूर्वअध्यक्ष कुइँकेलले पनि आफ्नो दाबी पेस गरेका थिए । २०७० सालमा गगन थापासँग पराजित भएका कुइँकेल २०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

डा. भट्टराई दोस्रोपटक गगन थापासँग प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो चुनावमा झिनो मतान्तरमा पराजित भएका भट्टराईले यसबीचमा प्रधानमन्त्रीको सल्लाहकार भएका बेला सो क्षेत्रको विकासमा बजेट तथा ठूला आयोजनाहरू लगेका कारण पछिल्लो समय उनको प्रभाव बढेको छ ।

भट्टराईको क्षेत्रमा रहेका बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये सबै एमालेले जितेको छ भने महानगरपालिकाका चारवटामध्ये एउटामा एमाले र तीनवटामा कांग्रेसले जितेको छ । स्थानीय तह निर्वाचनमा वडा तहमा आएको मतका आधारमा एमाले १६ हजार ५०७ मतका साथ पहिलो स्थनमा छ ।

कांग्रेस १५ हजार ७६३ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एसको २४२१ र माओवादीको ११६८ मत छ । क्षेत्रीय कमिटी बैठकमा कुइँकेलले दाबी फिर्ता लिएपछि भट्टराईको एक नाम सिफारिस भएको अध्यक्ष विदुरविक्रम खड्काले जानकारी दिए ।