Thu Oct 6 2022
मुख्य खबर

राष्ट्रियसभा : शून्य समयमा कुन सांसदले के भने ?

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभा बैठकको शुन्य समयमा सांसदहरुले सीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरवाही, मधेशमा सिंचाई र मलको अभाव, डेंगूको प्रकोपकाबारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकको शुन्य समयमा राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बोहोराले उक्त सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले मधेशमा सिंचाई र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको भन्दै बहुउद्देश्यीय पहाड–मधेस सिंचाई आयोजना कार्यान्वयनमा जोडदिइन् । त्यस्तै अर्का सदस्य नारायणदत्त मिश्रले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सहकारीहरुले जनताको रकम लिएर बेपत्ता हुने गरेको भन्दै सरकार गम्भीर हुनु पर्नेमा जोडदिए । सांसद मदनकुमारी साह गरिमाले कर्णाली नदी तटीय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरिन् ।

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले गत वर्ष सुख्खा ग्रसित किसानले पाउने भनिएको राहत रकम सिरहा नगरपालिकाका किसानहरुले नपाएको बताए । त्यस्तै सांसद सुरेशकुमार आले मगरले काठमाडौंमा डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सुन्य समयमा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलाहरुलाई धेरै भन्दा धेरै प्रत्यक्षतर्फ निर्वाचित गराउनुपर्नेमा जोड दिंदै बुटवल–काठमाडौं सडकको दुर्दशाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।