Fri Oct 7 2022
मुख्य खबर

आगामी निर्वाचनमा ठूला नेतालाई निर्वाचन क्षेत्र छान्नै सकस

अमृत ढकाल- आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका शिर्ष नेतालाई निर्वाचन क्षेत्र छान्न सकस परेको छ । सत्ताधारी गठबन्धनले तालमेल गरेर र निर्वाचनमा जाने निर्णय गरे पनि टिकट वितरणको मापदण पेचिलो बन्दै गएको छ । दलहरुबीच सिट बाँडफाटको विषय टुंगो नलाग्दा नेताहरुलाइृ निर्वाचन क्षेत्र छान्न पनि सकस परेको छ ।

मंसिरमा हुने संघीय निर्वाचनमा सत्ता गठबन्धनका शिर्ष नेताहरुलाई निर्वाचन क्षेत्र छान्न सकस परेको छ । पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरे पनि टिकट वितरणको मापदण्ड भने पेचिलो बन्दै गएको छ ।

दलहरुबीच सिट बाँडफाटको विषय टुंगो नलाग्दा नेताहरुलाईृ निर्वाचन क्षेत्र छान्न पनि सकस परेको छ । प्रधामन्त्री शेरबहादुर देउवाले डढडेल्धुराबाट निर्वाचन जित्ने निश्चित जस्तै छ ।

देउवा बाहेक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ तगारो बनेका छन् । सिट बाँडफाट कार्यदलका संयोजक कांग्रेस नेता कृष्ण सिटौला कहाँबाट निर्वाचन लड्ने भन्ने अहिलेसम्म टुङगो लागेको छैन ।

अघिल्लो निर्वाचनमा राप्रपाका राजेन्द्र लिङदेनसंग पराजित सिटौलालाई यसपाली पनि एमालेले राप्रपालाई सहयोग गरेमा जित कठिन छ । स्याङजा क्षेत्र नं २ मा उपसभापती धनराज गुरुङ र पूर्व उपसभापती गोपालमान श्रेष्ठमा कसले टिकट पाउने भन्ने अन्योल छ ।

अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट पराजित कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट क्षेत्र नं १ बाट लड्ने तयारी गरेका छन । त्यहाँ कांग्रेस नेता डा.रामशरण महतको दाबी छ ।

हरेक निर्वाचनमा फरक फरक क्षेत्रबाट चुनाव लड्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन भन्दा पनि सुरक्षित क्षेत्र खोजेको माओवादी स्रोतको दाबी छ ।

अध्यक्ष दाहाल बर्दिया, गोरखा अथवा रुकुम रोल्पा जान सक्ने समेत अनुमान गरिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपाललाई काठमाडौं क्षेत्र नं २ वा रौतहटबाट लड्ने भन्नेमा सकस छ ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सप्तरी वा बारा तथा सत्ता गठबन्धनमा सहभागी बामदेव गौतम बर्दिया अथवा प्युठानबाट लड्ने दुविधामा छन् ।

प्युठानमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई व्यवस्थापन गर्न गठबन्धनलाई चुनौती छ । त्यसैगरि यसअघि गोरखाको एकै क्षेत्रमा निर्वाचन लडेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मिलाउन पनि कठिन छ ।

सिन्धुपाल्चोकमा सभामुख अग्नी सापकोटा र कांग्रेस नेता मोहन बस्नेत मध्ये छान्न गठबन्धनमा सकस छ । लोसपा पनि गठबन्धनमा सहभागी भए कांग्रेस नेता विमलेन्द्र निधि र लोसपा नेता राजेन्द्र महतो मध्ये एकजना उम्मेद्वार बन्न नसक्ने अवस्था छ ।

सत्ताधारी दलका शिर्ष नेताहरु मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शिर्ष नेताहरु लाई पनि निर्वाचन क्षेत्र छान्न सकस परेको छ ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको लहरले नेताहरु झस्किएका छन । कतिपय ठाउँमा क्षेत्रीय पार्टीहरुको पनि राम्रो पकड भएकाले ठूला दलहरु तालमेल बिना हारिने डरले गठबन्धनको वैशाखी टेकेका छन ।