Wed Sep 28 2022
मुख्य खबर

भूमिगत तारको योजना अलपत्र

यशोदा भण्डारी- काठमाडौं उपत्यकाका पोल पोलमा कुरुप र अव्यवस्थित तरीकाले झुन्डिएका बिजुलीका तार भूमिगत, र व्यवस्थित गर्ने उद्देश्यका साथ नेपाल विद्युत्त प्राधिकरणले विद्युत्तिय प्रणालीलाई भूमिगत गर्ने योजना सुरु गरेको ३ बर्ष भएको छ । तर योजना सुरु भएको लामो समय भैसक्दा पनि पहिलो चरणकै काम सकिएको छैन ।

सडक विभागसँगको समन्वय नहँुदा अहिले बिजुलीका तार भूमिगत गर्ने काम ठप्प जस्तै देखिएको छ ।

नेपाल विद्युत्त प्राधिकरणले ३० महिना भित्र काठ्माडौं उपत्यकाका सबै क्षेत्रमा अन्डरग्राउण्ड बिजुलीका तार भिछ्याउने र विद्युतिय प्रणालीलाई स्वचालित गर्ने लक्ष्य राखेको थियो ।

२०७६ सालमै काम सुरु गरेको प्राधिकरणले लामो समय बितिसक्दा पनि अझै योजना सम्पन्न गर्न सकेको छैन । योजना अन्तरगत पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्र अन्तरगतको ६० प्रतिशत काम सम्पन्न भएको छ ।

यस्तै दोस्रो चरण अन्तर्गत रत्नपार्क वितरण केन्द्रको जम्मा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । महाराजगञ्ज क्षेत्र अन्तर्गत गोगंबुदेखि चाबहिलसम्मको काम अहिले ठप्प जस्तै छ । सडक विभागले अनुमति नदिदा उक्त क्षेत्रको काम सुचारु हुन नसकेको विद्युत प्राधिकरणले जनाएको छ ।

सडक विभाग, खानेपानी लिमिटेड लगायत सरकारका विभिन्न निकायहरुसँग समन्वय नहुदा काममा ढिलासुस्ति भएको प्राधिकरणको गुनासो छ ।

भारतीय ठेकेदार कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडसँग महाराजगञ्ज वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर बराबरको सम्झौता भएको थियो । यस्तै रत्नपार्क वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड २९ लाख डलर बराबरको सम्झौता भएको थियो । तर समयमा काम सम्पन्न नहुदा सवारीचालक, पैदलयात्रीदेखि स्थानिय बासिन्दासम्मले लामो समयदेखि सास्ती खेपिरहेका छन् ।

सडक विभागका अनुसार विद्युत्त प्राधिकरणले एकैपटक काठमाडौंका सबै सडकमा तार भुमिगत गर्ने भन्दै अनुमति मागेको थियो । एउटा सेक्सनको काम पूरा भईसकेपछि मात्र अनुभव र कामको आधारमा थप क्षेत्रमा तार भुमिगत गर्न दिने रणनीति अपनाएको सडक विभाग पहिलो चरणको कामबाटै असन्तुष्ट छ ।

प्राधिकरणले सांघुरा सडकमा पैदलयात्रीका लागि छुट्र्याइएको पेटी नै ढाकेर जताततै हाई भोल्टेज बक्स बनाएको छ । बिजुलीका छरपस्ट भुमिगत तारले उपत्यकाका भित्री सडकका पेटी अहिले अस्तव्यस्त बनेका छन् ।

जथाभावी यस्ता हाई भोल्टेजका क्याबिनेट बक्सहरु राख्दा पैदलयात्रीलाई हिड्न मुस्किल हुने, सवारी दुर्घटना हुने, पानी पर्दा लाईन सर्ट हुने जस्ता खतराको जोखिम रहन्छ । सहरलाई सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको योजनाले न पोलमा छरपष्ट तार हटाएको छ न पेटीमा राम्रोसँग हिड्ने अवस्था छ ।

तीन वर्ष अगाडि निकै ठूलो तामझामका साथ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अग्रसरतामा सुरु गरिएको भूमिगत विद्युतिय प्रणाली योजना अहिलेसम्म अस्तव्यस्त छ । यो काम अझै कहिले टुंगिन्छ, प्राधिकरण आफै अन्योलमा छ ।

यसरी प्राधिकरणको योजनामा भएको ढिलासुस्ति र लापरबाहीले समग्रमा देशमा पूर्वाधार विकासको बाटो कुन गतिले अघि बढ्छ भन्ने उदाहरण प्रश्तुत गरेको छ ।