Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

आइएमएफले श्रीलंकालाई करिब ३ अर्ब डलर ऋण दिने

आर्थिक संकटमा फसेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले २ दशमलव ९ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार एकसातादेखि श्रीलंका भ्रमणमा रहेको आइएमएफको टोली र श्रीलंकाका पदाधिकारीबीच २ दशमलव ९ अर्ब अमेरिकी डलर ऋणका लागि सहमति भइको हो ।

आइएमएफले श्रीलंकाली अर्थतन्त्रलाई उकास्नका लागि ४८ महिनासम्म उक्त ऋण दिने छ । यो सहमतिलाई स्टाफ लेभलको भनिएको छ ।

अब आइएमएफको कार्यकारी बोर्डले सहमति अनुमोदन गरेपछि यो ऋण अन्तर्गतको रकम श्रीलंकाले अर्थतन्त्र सुधारमा लगाउनु पर्नेछ ।

सन् १९४८ पछि सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाले आइएमएफबाट ३ अर्ब डलर ऋण सहयोगको अपेक्षा गरेको थियो । आर्थिक संकटपछि श्रीलंकामा उत्पन्न राजनीतिक आन्दोलनले सत्ता समेत फेर बदल भइसकेको छ ।

देश छाडेर भागेका तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षे माल्दिभ्स, सिंगापुर हुँदै अहिले थाइल्यान्ड पुगेका छन् । विदेशी मुद्राको अभाव हुँदा श्रीलंकाले अन्तर्राष्ट्रिय समुदायको ऋण तिर्न सकेको छैन भने दैनिक उपभोग्य वस्तुको आयात पनि ठप्प छ ।