Tue Sep 27 2022
अन्तर्राष्ट्रिय

अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि हत्या प्रयास, आक्रमणकारी पक्राउ

काठमाडौं। अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ। प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर हातेबन्दुक देखाएको जनाएको छ। राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन्।

उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन्। यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन्। उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन्। स्थानीय सञ्चार माध्यमहरूका अनुसार आफूलाई ब्राजिलियन भनेर चिनाउने एक युवकलाई प्रकाउ गरेर प्रहरीले हिरासतमा लिएको छ। प्रहरीले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।