Fri Oct 7 2022
मुख्य खबर

विपद् जोखिम न्यूनिकरण गर्न दिएको रकम सदुपयोग गर्न गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

आज विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिनुभएको हो ।

उहाँले सरकारले विपद् जोखिम न्युनिकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताउनु भयो ।

मन्त्री खाँणले विपद् जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताउनु भयो ।

उहाँले स्थानीय तहमा विपद् जोखिम न्युनिकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनामा नै खर्च गर्नुपर्ने बताउनु भयो । मन्त्री खाँणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरु गम्भिरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिनुभयो ।

गृहमन्त्री खाँणले यो वर्ष पनि वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले ठूलो क्षति भएको बताउनु भयो । उहाँले विपद् प्राधिकरणलाई सरकारले कोष प्रदान गरेको भएपनि स्थानीय तह र स्थलगत रुपमा विपद् व्यवस्थापनका लागि आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताउनु भयो ।

विपद् व्यवस्थापनका लागि स्थानीय गाउँपालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको बताउनु भयो ।